शनिबार, १२ साउन २०७५, ०७ : ३२ |  हेमन्त विवश द्वारा लिखित..नागरिक न्युज दैनिकमा प्रकाशित

Original Source: https://nagariknews.nagariknetwork.com/news/53264/ 

आँसुको कहानी

कहानी बनेन केही यस्तै भो मेरो जिन्दगी
वर्षाबिनाको बादल जस्तै भो मेरो जिन्दगी

कुनै समयमा निकै चर्चित एल्बम ‘आँसु’भित्रका गीतका पंक्ति हुन् यी । गायक तथा संगीतकार हुन् तिलकसिं पेला ।

सुदूरपश्चिमबाट आधुनिक गायनमा पहिलोपटक देखापरेका पेलाले गायन क्षेत्रमा आफ्नोे आवाजको कमाल ०५३ सालमै देखाइसकेका थिए ‘आँसु’ एल्बममार्फत् । उनी तिनै गायक हुन्, जोसँग कयौ गुरुका ढोकाबाटै रित्तै फर्केको तीतो सम्झना छ । आज तिनै गुरुका शिष्य उनकोमा आएर सिक्छन् । उनलाई भेट्दा सोधेको थिएँ –‘यतिका वर्षसम्म किन लुकेर बस्नुभो ?’ ‘म्युजिकल नलेज नहुँदा साधनाका लागि पनि लुकेँ । ज्ञानबिनाको नाम कमाएर आफू पनि ठगिनु र अरुलाई पनि बेवकुफ बनाउनु उचित ठानिनँ । मार्केटमा टिक्न साधना नै गर्नुपर्छ, त्यही भएर साधनामै छु,’ उनले सहज उत्तर दिए।

कुनै बनावटी कुरा हुँदैन उनीसँग । घाँटीमा ओशोको माला झुण्ड्याइरहने पेला कक्षा १० सम्म पढ्दा शाकाहारी थिए । एक पटक गाउँकै भाउजुको अनुरोधमा गुलेली चलाएछन् । गुलेलीले हिर्काएको ढुंगाले भँगेराको पखेटा उछिट्टिएर खुट्टा नजिक आई फट्फटाएछ । यसले खुट्टा नजिक आएर विलाप गर्दैछ । जिन्दगी माग्दैछ । मैले कति ठूलो भूल गरेँ ठानेर निकै रोएछन् । त्यही दिनदेखि उनले सदाका लागि छोडिदिए– माछा–मासु।

बैतडीमा जन्मेका पेलालाई हाइस्कुल पढ्दै संगीतको प्यास लागिसकेको थियो । हरेक वर्ष भारतका शास्त्रीय संगीतका विद्वान् पण्डित बिष्णु दिगम्बर पलुस्करका शिष्य ओमकारनाथ ठाकुर देहरादुन गडवाल, कुमाउँ, खपिथौरागढ, झुलाघाट हुँदै आइपुग्थे, दार्चुलाको गोकुलेश्वर र बैतडीको पीपलकोट नकतडीसम्म । यात्राको उद्देश्य हुन्थ्यो– ठाउँठाउँमा रामलीला देखाउनु । १० दिनसम्म चल्थ्यो रामलीला नाटक । ओमकारनाथ ठाकुर राम्रो गायक र कुशल सितारवादक पनि थिए । पाँच वर्षकै उमेरमा पहिलो पटक आमाको बुइ चढेर गएका थिए पेला पनि रामलीला हेर्न ।
नजानिँदो पाराले त्यतिबेलै ठाउँ बनाइसकेको हुनुपर्छ दिमागको कुनामा त्यो संगीतको धुनले । साइलेकस्थित वीरेन्द्र माविमा कक्षा १० पढ्दाताका फेरि रामालीला देखाइयो, जहाँ उनले नाटकमा खेल्ने मौका पाए ।

त्यही रामलीलाले तानेको हो उनलाई सांगीतिक दुनियाँतिर । छुट्टिका दिन वनमा गाई बाख्रा चराउन जाँदा होस् वा एक्लै बस्दा, तिलकलाई गीत गुनगुनाउने बानी परिसकेको थियो । संगीतकै सपना देख्न थालेपछि पढाइतिर रुचि घट्दै गयो । परिणाम उनी एसएलसीमा फेल भए र महेन्द्रनगर आए दाइसँगै।ठूल्बुबाको छोरा कृष्णसिं नाताले दाइ परे पनि निकै मिल्ने साथी थिए, जो गीत गजल लेखिरहन्थे र तिलकलाई सल्लाह दिइरहन्थे । ०५२ सालमा छुट्टिएर महेन्द्रनगर यात्रा गर्दा ३०-३५ गीत संग्रहित एउटा कापी दिएका थिए कृष्णले । जहाँ जाँदा पनि उनले त्यो कापी बोकिरहे।

महेन्द्रनगरको रतनपुरमा प्रत्येक शुक्रबार भजन–कीर्तन हुन्थ्यो । त्यहाँ भरसक नछुटाइ पुग्थे पेला । कर्णप्रिय स्वरका धनी पेलालाई बाजा बजाउन आउँदैनथ्यो । आफ्नै किसिमले लय सिर्जना गर्थे र गुनगुनाउँथे । एक वर्षपछि कृष्ण महेन्द्रनगर पुगे तिलकलाई भेट्न । तिलकले सुनाए पहिलोपटक लय सिर्जना गरिएका कृष्णका शब्द ;

उदाश उदाश साँझमा तस्बिर लिएर हातमा
गाउँदैछु यौटा गीत प्रियसीको यादमा

गीत सुनेर कृष्ण दंग परे । त्यो लय कण्ठ गरेर केही दिनमै हिँडे कृष्ण बैतडीतिर । बैतडी पुगेपछि नेपाली विषयका शिक्षक टेकबहादुर चन्दलाई गीत सुनाए । तिनले कृष्णलाई गीत मात्र लेख्न र तिलकलाई संगीत संयोजन गरेर गाउन सल्लाह दिए ।तिलकका माइला दाई डम्बर दिल्लीमा जागिर गर्थे । तिलकको संगीतप्रति रुचि छ भन्ने सुनेपछि घर आएर उनलाई पनि लगे दिल्लीमै । दिल्लीमा मुस्लिम गुरुकहाँ संगीत सिक्न पुर्याए । तिनै गुरुकहाँ तिलकले सिके सांगीतिक संस्कार।

 तिलकसिं पेलाले सुदूरपश्चिमबाट काठमाडौं आएर संगीत साधनामा जम्न गर्नुपरेको संघर्षको कथा सुन्दा आँखाका डिल भत्किन्छ । उनी उपयोगी समाजका लागि अर्थपूर्ण अस्तित्वसँगै आँसुको कहानीमा पौडिएका साधक हुन् ।

तिलक त्यतिबेलै गाउन चाहन्थे । तर, गुरुले गीत गाउन दिएनन् । उनका गुरुले भन्थे– ‘तुम सिर्फ ‘सा’ लगाओ, अभि तुम गीत मत गाओ बेटा ।’ ‘सा’ मुख्य स्वर हो संगीतको । विद्वान्हरू पहिले सालाई नै साध्न सिकाउँछन् ।तिलकलाई के थाहा यस्ता कुरा ! उनी हार्मेनियमको ट्युनिङसँगै गीत गाएर जमघटमा सुनाउन चाहन्थे ।दाइ ड्युटीमा जान्थे । गुरुकहाँ संगीत सिकिसकेपछि उनी नजिकैको पार्कमा जान्थे र कृष्णले लेखेका गीत गुनगनाउँथे । उनले ‘आँशु’ एल्बमका गीतको लय त्यही पार्कमा बनाएका थिए।

दिल्लीमा १० महिना संगीत सिकेपछि उनी घर फर्किए । त्यतिबेला कृष्णको परिवार कैलाली झरिसकेको थियो । दिल्लीबाट महेन्द्रनगर पुगेलगत्तै उनी कृष्णलाई भेट्न कैलाली पुगे ।सरकारी विद्यालयका शिक्षक थापाले गर्दा सुरु भयो तिलकको सांगीतिक यात्रा । प्रेम र कृष्ण दुवैले बैतडी र दार्चुलाका अघिकांश विद्यालयमा तिलकको गीत सुन्ने वातावरण बनाए । चारैतिरबाट उनको स्वरको तारिफ हुन थाल्यो ।थापाले खल्तीबाट १० हजार रूपैयाँ दिएर तिलकलाई काठमाडौं गई एल्बम निकाल्न सुझाए । कृष्णले केही रकम जोहो पनि गरे।

काठमाडौं पुगेपछि रेडियो नेपालतर्फ हानिए । दर्ता चलानी फाँटमा भेटिइन्, चन्द्रकला शाह । दसैं नजिकिँदै थियो, रेडियो नेपालमा रेकर्डिङका लागि डेट पाउन सम्भव थिएन । उनलाई चन्द्रकलाले म्युजिक नेपाल जान सल्लाह दिइन् । म्युजिक नेपालमा संगीतकार मदन दिपबिम भेटिए । तिलकले स्टुडियोमा गीत सुनाए । मदनले उनको स्वर मन पराएर एक दिनका लागि स्टुडियो मिलाइदिने बचन दिए । भोलिपल्टका लागि टाइम मिलाउन शीलाबहादुर मोक्तानलाई फोन गरियो । एकदिनमै गीत एरेन्ज गरेर रेकर्डिङ भयो।

पूरै एल्बमको गीत रेकर्ड गर्न गएको मान्छे एउटा मात्र गीत रेकर्ड भएको उनी सुनाउँछन् । तर, पनि एउटा मास्टर कपी र ३ -४ वटा अरु क्यासेट बोकेर म्युजिक नेपालबाट बाहिरिँदा मनभरि छाएको खुसीको सीमा थिएन । रेडियो नेपालमा गीत दर्ता गराएर उनी घर फर्किए । चन्द्रकलाले अरु गीत रेकर्ड गर्न मंसिरमा आउनू भनेकी थिइन् । मंसिरमा फेरि काठमाडौं पुगे पेला । निकै सहयोग गरिन् शाहले । उनैले भुपेन्द्र रायमाझी, शुसील बिश्वकर्मा, कमल परियार, मदनसिंह नेपाली र मधुबाबु थापालाई एकएक वटा गीत एरेन्ज गर्न दिइन् । एक हप्तामै सकियो पाँच गीतको रेकर्डिङ।

त्यति बेलासम्म तिलकलाई थाहा थिएन एल्बम कसरी बजारमा पुग्छ भन्ने । मात्र रेडियोमा बजेको सुन्न मन थियो ।
गीत रेकर्डिङकै क्रममा मालिका म्युजिक कम्पनीका मालिकसँग भेट भएको थियो । उनैलाई मास्टर कपी दिएर फर्किए महेन्द्रनगर । एल्बम निकाल्न सम्झौता गर्नुपर्छ भन्ने केही थाहा नपाएका पेलाले त्यसै छाडेर आए मास्टर कपी । केही दिनपछि गाउँको एउटा केटाले खबर ल्यायो– एल्बम बजारमा आएको । अलिकति पैसा जोहो गरेर उनी दौडिए पसलतिर जहाँबाट ५० आफ्नै एल्बम किने । र, आफन्तलाई बाँडे ।केही समयपछि उनी महेन्द्रनगरमा गीतको ट्रयाक सार्न गए । त्यही क्रममा आशीर्वाद क्यासेट सेन्टरका दीपक खरेलसँग उनको चिनजान भयो । दीपकले ३५ सयप्रति क्यासेट ल्याएको बिल देखाउँदै क्यासेट राम्रो चलेको सुनाए । र प्रश्न गरे –‘रोयल्टी कति पायौं त ?’

रोयल्टीबारे उनलाई थाहा थिएन । उनले नसुनेझै गरिरहे । फेरि दोहोर्याए पसलेले –‘पैसा नै दिएन कि क्या हो ?’
बल्ल तिलकका ओठ चल्मलाए – ‘के को पैसा ?’   ‘यो क्यासेट बिकेबापत पैसा आउँछ नि गायकलाई,’– बोले पसले ।‘कम्पनीसँग सम्झौता गरेको छैन ?’ – फेरि सोधे पसलेले ।मधुरो स्वरमा तिलकले उत्तर फर्काए – ‘छैन ।’

पसलेले उनलाई सबै प्रक्रिया बुझाए र काठमाडौं गएर कम्पनीसँग पैसा माग्न सुझाए । देशभरमा त्यस्ता कति पसलमा क्यासेट पुगे । कति क्यासेट बेचिए तिलकलाई के थाहा ?फेरि पनि तिलक चुपचाप तयारी गर्न थाले दोस्रो एल्बमको । जसमा डोट्याली भाषाका ५ गीतका शब्द थिए देवराज भट्ट शर्माका । २ गीतका शब्द थिए कृष्णका । शास्त्रीय संगीतमै रेकर्डिङको तयारी भयो । अनि उनले बाटो नापे काठमाडौंको । काठमाडौ पुगेकै दिन भेटिए पहिलेको एल्बम बजारमा ल्याइदिने मालिक । रोयल्टीको कुरा गर्दा उनले सजिलैसँग भनिदिए– ‘भाइ १२०० क्यासेट बिकेका छन् । एउटा क्यासेटको तीन रूपैयाँका दरले ३६०० रूपैयाँ हुन्छ, लगेर जाऊ।’

तिलकको दिमागमा झल्झल्ती आउन थाल्यो, खरेलले देखाएको ३५०० क्यासेट किनेको बिल । न उनको झगडा गर्ने स्वभाव थियो न गरिएको थियो कुनै सम्झौता । कयौपल्ट हात जोडेर अनुरोध गरेपछि बल्ल फिर्ता लिए मास्टर कपी ।  त्यो मास्टर कपी फेरि बिना सम्झौता धनगढीकै एक कम्पनीलाई दिए । जसको कथा निकै लामो छ । त्यतिखेरै राजधानी दैनिकमा उनको अन्तर्वार्ता छापियो । एक–दुई जनाले त दिल्लीबाट कभर छापेर डबिङ गर्दै बेच्दै गरेको पनि उनले भेट्टाए । र, ३५०० जति कभर खोसेर पनि ल्याए । अनि बेलौरी बेल्डाँडीमा रहेको मदरलेण्ड बोर्डिङमा संगीत शिक्षक भएर काम गर्न थाले ।

उनी पाँच वर्षको हुँदा बाले छाडेर गएका थिए, जो भारतीय सेनाका रिटायर्ड थिए । आमाले बाको पेन्सन बुझ्नुहुन्थ्यो । पाँच जना भाइमध्येका उनी कान्छा थिए । माइला दाजुले उनलाई पोल्टीफर्म खोल्ने सल्लाह दिए । आफूसँग ब्याकप हुनुपर्छ भन्ने दाइको भनाइलाई मनन् गर्दै बोर्डिङको जागिर छाडेर उनी लागे कुखुराको खोर बनाउन । त्यतिबेलै प्याब्सनको कार्यक्रममा थियो जिल्लामा । बच्चाको सांगीतिक प्रस्तुतिका लागि विद्यालयको अनुरोधमा ३ दिनका लागि उनी फेरि गए ।बच्चाहरूको प्रस्तुति सबैले मन पराए । तिलकको चौतर्फी चर्चा हुन थाल्यो । संगीत शिक्षकका लागि अफर आउन थाल्यो विद्यालयहरूबाट।

नव प्रतिभा बोर्डिङबाट बस्न, खान सहित मासिक आठ हजार रूपैयाँ दिने अफर आयो । खोर बनाउने काम नसकिँदै धेरैले उनको दिमाग माझिसकेका थिए । दाइलाई समेत कन्भिन्स गरिसकेछन् । त्यसैले त दाइले भने –‘तिमीलाई त्यहाँ जान मन लाग्छ भने ठिकै छ नि त।जब बिस्तरा र बाजा गाडीमा राखेर गाउँकै प्रकाश भाइलाई साथमा लिएर पुगे नवप्रतिभा स्कुलको गेटमा ।

गेटभित्रैबाट आकाशबाणी भएझै आवाज आयो – ‘हामीले मान्छे राखिसक्यौं ।’ एक्कासी आकाश खसेजस्तो भयो । घरको न घाटको भइयो । अनि एकाएक तिलकका पनि ओठ खुले– साह्रै अनुरोध गरी बोलाएर म निर्दोषलाई किन फसायौ ?, समयले तिमीलाई जवाफ दिने छ भन्दै मितआमाको छोराको घरमा सामान राखी भारतमा दरवानी गर्न जाने सोच बनाएर फर्किए ।मीतआमाको छोरालाई देख्ने बित्तिकै केही बोल्न नसकेर मात्र आँसु झारिरहे । प्रकाश भाइले सबैकथा सुनाइदियो । ती दाइले निकैबेर सम्झाए । करिब महिना दिनसम्म आफ्नै घरमा राखे । त्यही समयमा आँसु एल्बम निस्किन बन्द भएको खवर थाहा पाएर काठमाडौदेखि आइपुगे ताल म्युजिकका असलम खान ।

उक्त कम्पनीको डिलर असीग्राम फेन्सी स्टोरका मालिक हर्षराज जोशीले देखाइदिएछन् बसेको ठाउँ । असलम एक हप्तामा काठमाडौं आउने निम्तो दिँदै मास्टर कपी लिएर फर्के । पछि तिनै हर्षराज र मीतआमाका छोराले केही पैसा दिएर उनलाई काठमाडौं पठाए ।महाराजगन्जस्थित हर्षराजकै भाइको कोठामा बस्ने व्यवस्था मिलाइयो । कोठावाल प्रायः बाहिरबाहिरै हुने हुँदा कोठामा अधिकांश समय उनी एक्लै हुन्थे । साथमा भएको पैसा सकियो । घरमा सबै बोर्डिङमा पढाइरहेको छ ठानिरहेका थिए । एक दिन काठमाडौमै पढिरहेको फुपूको छोराको फोन नम्बर पत्ता लगाए र भेटे । उनीहरू दुईजना अनामनगरमा बस्थे । त्यसपछि तिलक पनि उनीहरूसँगै बस्न थाले।

बसाइ कामचलाउ थियो । केही दिनपछि ताल म्युजिकबाट ‘आँसु’ एल्बम बजारमा आयो । सुरुमै रोयल्टी मिल्यो, ७ हजार । त्यसपछि उनी गुरुदेव कामतकहाँ संगीत सिक्न थाले । भदौमा टुँडिखेलमा गौरा पर्वको रमिता हेर्न जाँदा एक सेनाका जवानसँग उनको भेट भयो, जो उनका भिनाजु नाता पर्थे । तीनै ठूलीआमाका ज्वाइँ अर्थात् भिनाजुले उनी बसिरहेको कोठा र उनको अवस्था देखेर एउटा म्याट, कम्बल र पाँच हजार रूपैयाँ दिए ।घरको याद आइरह्यो । आमाको मायाले सताइरह्यो । काठमाडौको अभावग्रस्त जिन्दगीबारे मनभित्रका कयौं कुरा रुँदै लेखे कागजमा र पठाए रजिस्ट्री पत्र घरमा । चिठी पाएपछि दाइले सम्पर्क गरेर सम्झाएछन्।

‘दसैंमा घर आउनू । घरबाटै पैसा पठाउँला अनि तिमी संगीत सिकौला,’ आमाले पठाएको रैवार थियो त्यो । छोराको कर्मप्रति आमा सन्तुष्ट थिइन् । एकदिन महेन्द्रनगरबाट बैतडी जाँदै गर्दा गाडीमा आँसु एल्बमका गीत बजिरहेका रहेछन् । आमाको मन न हो निकैबेर खुसी र यादले परेलीका डिल रसाएछन् । रातभर हिउँ परेर डडेलधुरामै बास भएछ । आफ्नो भन्नु कोही रहेनछ । सबै यात्रु होटलतिर गएछन् । आमा बसमै चुपचाप बसिरहँदा ड्राइभरले सोधेछन्– ‘घर काँ हो ? काँ जाने हो…’

‘त्यो अघिदेखि तमीले बजायाको गीत गाउने मेरो छोरो हो,’ आमाको एउटै जवाफ थियो ।अनि त बसवालाले आमाको झोला समातेर होटलतिर लगेछ । सरसम्मान बस्ने व्यवस्था मिलाइदिएछ । त्यो यात्रामा आमाले पाएको सम्मान अनि आमाले छोराका सबै गीत सुनेर परेलीका डील भिजाएको पल नै उनको सफलताको पल हो।

काठमाडौं आएको चार वर्षपछि भेटाएका हुन्, गुरू धनबहादुर गोपालीलाई । तिनै गुरुकोमा पढेर उनले एमम्युज गरे । फेरि बनारस गई गुरु देवाशीषसँग दुई वर्ष संगीत सिके । अहिले पनि समय मिलाएर पुग्छन् बनारस ।काठमाडौंको बनस्थली चोकभन्दा भित्रपट्टि श्रीकृष्ण गुरुकुल पाठशाला चलाएर साधनारत तिलकसँग सिक्ने शिष्यहरूको संख्या बाक्लै देखिन्छ । उनी भन्छन्, ‘दस जनालाई राग गाउने बनाइसकेपछि म सुदूरपश्चिम फर्किने छु । यो मेरो मार्केट तिनैको हो, मेरो होइन । म त कसैलाई गोरेटो देखाइ दिन यहाँ आएको हुँ ।’

 भावुक र संवेदनशीलहरूका लागि कसै गरे पनि एक्लो जीवन हुँदो रहेनछ । उनीकहाँ भीड लागेकै हुन्छ भेटघाट गर्नेदेखि संगीत सिक्नेसम्मको । बहुप्रतिभाका धनी पेला एक कुशल गायक, संगीतकारका साथै असल गुरुका रुपमा परिचित छन् । उनले नयाँ एल्बम बजारमा ल्याउँदैछन् ।उनी उपयोगी समाजका लागि अर्थपूर्ण अस्तित्वसँगै आँसुको कहानीमा पौडिएका साधक हुन् । उनको न कसैप्रति आश छ न त कसैप्रति रोष नै । मात्र गुनगुनाउँछन् एकान्तमा– लुकाउन खोज्दा पनि आँसु त नखसेको हैन… ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.